कीर्तिपुर क्रिकेट मैदानमा भदौ मसान्तमा प्यारापिटको काम सकिने

0 Shares

राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ।

समितिले मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो।

समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी गराए।

भदौ मसान्तसम्म प्यारापिट निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए। मैदानमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण गरिएको छ। अहिले सिट हाल्ने काम भइरहेको छ।

फ्लडलाइट जडानको काममा भने अझै एक महिना लाग्ने देखिएको उनले बताए। लाइट आउन बाँकी रहेकोले फ्लडलाइट जडानको काम ढिलो हुने उनले बताए। यद्यपी ६ वटा पोल राख्ने काम भने सकिएको छ।

समितिका सभापति मायाप्रसाद शर्माले हाल निर्माण कम्पनीले तोकिएको समयमा काम सक्नुपर्ने बताए।

उनले हाल निर्माण कम्पनीले हर्जना तिरिरहेको उल्लेख गर्नुहुँदै अब पनि समयमा काम नसकिए पटकपटक म्याद थप्न नसकिने बताए।

निर्माण कम्पनीले सरकारले तोकेको समयमा काम गर्न नसकेपछि दैनिक हर्जना तिरेर काम गरिरहेको छ । – न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया